चितवन, १० जेठ
पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर र निरन्तर भइरहेको मूल्यवृद्धिको विरोधमा चितवनका युवाहरूले आइतबार अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्। जेनजी (Gen Z) अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरी खान देऊ’ अभियानको चितवन शाखाले सवारी साधन हातले डोर्याएर विरोध र्याली निकालेको हो।चितवनको चौबिसकोठीबाट सुरु भएको उक्त विरोध र्याली लायन्स चोक पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागी युवाहरूले मोटरसाइकल र स्कुटर नचढाई हातले तान्दै र डोर्याउँदै सरकारको ध्यानाकर्षण गराएका थिए।६ प्रकारका कर खारेज गर्न माग आन्दोलनका क्रममा युवाहरूले सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएका विभिन्न ६ प्रकारका करहरू (भन्सार महसुल, प्रदूषण शुल्क, सडक मर्मत दस्तुर, पूर्वाधार विकास कर, मूल्य अभिवृद्धि कर (VAT) र हरित कर) खारेज वा कटौती गर्न माग गरेका छन्।’गरी खान देऊ’ अभियानका अभियन्ता मिराज ढुंगानाका अनुसार हाल प्रतिलिटर पेट्रोलको मूल्य २१७ रुपैयाँ पुग्दा सरकारले झन्डै ६५ देखि ७० रुपैयाँ त कर मात्रै असुल गरिरहेको छ। “आर्थिक संकटको यो समयमा जनतामाथि यति ठूलो करको भार थोपर्नु न्यायपूर्ण छैन,” ढुंगानाले भने, “हाम्रो माग सरकारसँग घाटामा पेट्रोलियम पदार्थ माग्ने होइन, बरु संकटको घडीमा लगाइएका अनावश्यक करहरू हटाएर जनतालाई राहत दिनु हो।”विशुकुमार लामा गुरुङको स्थानीय नेतृत्वमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले “गरी खान देऊ”, “उच्च महँगीको मारमा हरायो सुशासन” जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानरहरू बोकेका थिए।दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्नसम्म सबै क्षेत्रमा महँगी आकाशिएको बेला पेट्रोलियम करले सर्वसाधारण र व्यवसायी दुवैलाई मारमा पारेको प्रदर्शनकारीहरूको भनाइ थियो। सरकारले तत्काल यी करहरू परिमार्जन नगरे आगामी दिनमा अझ सशक्त आन्दोलन छेड्ने चेतावनी समेत युवाहरूले दिएका छन्।
